बर्तमान सिन्कोना बगान मजदुरहरुको विविध समस्याहरुलाई लिएर विभिन्न राजनैतिक दल साथै यसको युनियनहरुले सिन्कोना निर्देशकसित भेट्ने क्रममा संधै निम्न भन्दा निम्न वर्गीय जनता सम्मको हितमा काम गर्ने अडान राख्ने मार्क्सवाद कम्युनिस्ट पार्टीको मजदुर युनियन दार्जीलिंग सिन्कोना बगान मजदुर युनियनको टोलीले पनि सिन्कोना अनि अन्य औषधीय पौधाका निर्देशक डा० सामुयल राईसित भेट गर्दै बगानमा दिन रात पसिना बगाएर खटीखाने मजदुरहरुको समस्याहरुको समाधान हेतु एउटा भेटवार्ता गरेको छ | यस भेटमा युनियनले बर्तमान भारतभरि नै नोटबन्दीको कारण साधारण भन्दा साधारण जनतालाई पनि असर परिरहेको समय सिन्कोनाका मजदुर, कर्मचारीहरु पनि यो असरदेखि अछुन्न नरहेको अनुभव गर्दै यसको साथै सम्पूर्ण सिन्कोना मजदुरहरुले पनि ब्यांकको खाता खोलेर मात्र त्यसै खातामा उनीहरुको मासिक तनाखा हालिदिने गरेकोले कति कर्मचारीहरुलाई धेरै नै असुविधा भइरहेको अवस्थामा सिन्कोना निर्देशालयले यस्तो अवस्थालाई ध्यानमा राखी उनीहरुको तनाखा सम्बन्धित कार्यलयहरुबाट नै भुक्तान गरिदिने अपिल युनियन टोलीले गरेको छ | यसरी नै सिन्कोना लेबर एक्ट अनुसार यसका मजदुरहरुले आधिकारिक रुपमा पाउन पर्ने मोडेल घरहरु पनि अविलम्ब निर्माण गरिदिनुपर्ने माग गरेको छ | भेटवार्तामा युनियन टोलीले सिन्कोना बगानहरुमा धेरै दिनदेखि थाँतीमा रहेको कतिपय मजदुर, कर्मचारीहरुको बदला काम, कर्मचारीहरुको पदोन्नति, मजदुर, कर्मचारीहरुको निम्ति पिउने पानीको व्यवस्था जस्ता महत विषयहरुको पनि निर्देशक राईसित चाडै उन्मूलन गरिदिने माग राखेको छ | युनियन टोलीलाई बुद्ध कुमार मोक्तान, ललिता राई अनि अन्य प्रतिनिधि लगायत सीपीएम पार्टीको जिल्लाबाट आएका प्रतिनिधिहरु सुदिप दत्त, सचिन खाती आदिले नेतृत्व दिएका थिए |
↧