बिगत केही महिनादेखि सिटोङ अनि मङपुको संगमस्थल जोगीघाट परिसरमा हप्ताको प्रत्येक शनिबार हाट लाग्ने गर्छ | आयोजक समितिले बिशेष गरेर सिटोङ अनि मङपु क्षेत्रका कृषकहरुको उत्पादनलाई सठीक अनि सुगम तरिकाले बजारीकरण गर्ने उदेश्यमा हाट आयोजन गरेको ठहर गर्थ्यो भने आज यसै हाट आयोजक समितिले सिटोङ अनि मङपु भेकका कृषकहरुलाई सित्तैमा मूला, गाजर, मटर, प्याज जस्ता सब्जीहरुको बीजआदि वितरण गरेको छ | क्षेत्रका कृषकहरुलाई प्रेरणा दिंदै उनीहरुको आर्थिक अनि व्यवसायिक क्षेत्रमा प्रगति होस् भन्ने हेतु उनीहरुलाई यसरी सिजनको फल फूलहरुको बीजहरु प्रदान गरिएको जानकारी समितिले दिएको छ | त्यसै पनि यी दुवै क्षेत्रहरु साग सब्जीहरुको खेतीको निम्ति एकदमै उर्वर रहेकोले साथै बजारमा अर्ग्यानिक साग सब्जीको धेरै माग भएको हुँदा खेतीपाती गर्न प्राय: छोडिसकेका यस क्षेत्रका कृषकहरुलाई पुन: प्रेरित गर्नु नै यस प्रकारको कार्यक्रम गरेको आयोजक समितिले जनाएको छ | यसको साथै हाट आयोजक समितिले आगमी दिनहरुमा पशु चिकित्साका डाकटर ल्याएर सम्बन्धित क्षेत्रका गृह पालित गाई, बाख्रा, सुँगुर, कुकुर आदिलाई सित्तैमा जाँच साथै इन्जेक्शनको प्रबन्ध मिलाइदिने पनि जानकारी दिएको छ | आजको कार्यक्रममा हाट आयोजक समिति सभापति समीर मोक्तान, सचिव विभोर तामांग लगायत कार्यकारिणी सदश्यहरु प्रणय राई, निशेष मुखिया, सुदन राई आदि उपस्थित रहेका थिए भने क्रमैले उनीहरुकै बाहुलीबाट कृषकहरुलाई सागसब्जीका बीजहरु वितरण गरिएको थियो | भर्खर टुकुलटुकुल हिंड्दै गरेको यस हाट अनि आयोजक समितिको उदेश्यलाई बिशेष ध्यान दिएर सबै सबैले सहयोग गरिदिने समितिले आग्रह गरेको छ ||
↧