पहाडको एक मात्र सरकारी उध्योग सिन्कोना बगानको ग्रुप डी पदोन्नति ठप्प रहेको कारण बगानकै कार्य प्रणालीमा असुविधा भइरहेको भएपनि दीर्घ दिनदेखि बन्द रहेको पदोन्नति प्रक्रिया खुलाउनमा आजसम्म राजनैतिक पार्टी, युनियन र सिन्कोना बगान प्रशासकसम्म चुकेको छ | यसै विषयलाई लिएर सिन्कोनाको सहायक संगठनले विगत केहीवर्षहरुदेखि आन्दोलन गरिरहेको अनि जान पर्ने जम्मै ढोकासम्म पुगेको पनि समस्या यथावत नै छ | आन्दोलनकालले संगठनको आन्दोलन रफ्तारलाई पछि धकेलेको तितो अनुभूति सबैलाई थाहा छ | विभिन्न पार्टीको राजनैतिक मुद्दासम्म बन्न पुगेको यो समस्याले हल नपाउंदा पुन: सहायक संगठनले गत सोमबार यहाँको सिन्कोना निर्देशक डा० सामुयल राईले भेट गर्दै प्रक्रिया प्रगति बारे जानकारी लिए | सहायक संगठन केन्द्रीय समिति सभापति साङदोर्जे तामांग, मूल सचिव मुनाल घिसिंगको नेतृत्वमा बसेको भेटवार्तामा संगठनले पदोन्नति प्रक्रिया बारे के प्रगति हुँदैछ त्यसबारे सोधपुछ, सिन्कोना व्यवस्थापनको पक्षबाट गरिएको पहल बारे जानकारी निर्देशकलाई मागे | यता सिन्कोना निर्देशक राईले सिन्कोना व्यवस्थापनको पक्षबाट गरिनुपर्ने जम्मै कार्य पुरा गरेर नियुक्ति प्रक्रिया चालु गराउन जीटीए मार्फत राज्य सरकारलाई फाइल सुम्पिसकेको बताए | जुन फाइलहरु हालमा फुड प्रोसेसिङ एण्ड हर्टिकल्चर विभाग हुँदै हिल अफेयर्सको टेबलमा पुगेको निर्देशकको भनाई छ |
यसै सन्दर्भमा विगत लोकसभा चुनाव अघि सिटोङ घलेटारमा आयोजित चुनावी सभामा पत्रकारलाइ जवाब दिंदै गोजमुमो अध्यक्ष बिनय तामांगले सिन्कोनाको समस्या समाधान हुन अब धेरै दिन छैन र तीन महिनाभित्रमा पदोन्नति प्रक्रिया सबै समधान हुन्छ सम्म भनेका थिए भने चुनाव सकिनसाथै अध्यक्ष तामांगको मुखबाट सिन्कोनाको समस्याबारे कुनै वक्तब्य सुन्न पाइएको छैन |
भेटवार्तामा रोंगो युनिटबाट साङदोर्जे तामांग केन्द्रीय समिति सभापति, मङपुबाट मुनाल घिसिंग मूल सचिव केन्द्रीय समिति, अमृत खड्का, संजीव घिसिङ, लाठपन्चरबाट, हेमन्त खवास, सुनिल छेत्री अनि मनसोङबाट नयन राई, सुनिल तामांग गरी जम्मा आठ जनाको प्रतिनिधिले भाग लिएका थिए भने साथमा सहायकवर्गहरुको पनि व्यापक उपस्थिति रहेको थियो ||