दार्जीलिङ संसदीय क्षेत्रबाट साझा प्रार्थी खडा गर्नका निम्ति प्रयासरत रहेको नेशनल गोर्खाल्याण्ड कमिटिले आज दार्जीलिङमा डाकेको सर्वदलिय वैठक स्थगित गरेको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले गोर्खा जनमुक्ति मोर्चा (विमल गुट) सँग मिलेर भारतीय जनता पार्टीलाई समर्थनको घोषणा गर्न साथ एनजीसीले अघिबाटै तय गरेको सर्वदलिय वैठक स्थगित गरेको हो। एनजीसीका अध्यक्ष अप्रा. लेफ्टिनेन्ट जेनेरल शक्ति गुरुङले एक प्रेस विज्ञप्ति जारी गरेर दार्जीलिङमा हुने वैठक स्थगित गरेको बताएका छन्।
‘नेशनल गोर्खाल्याण्ड कमिटि (एनजीसीले) क्षेत्रीय राजनैतिक दलहरूलाई लिएर दार्जीलिङ लोकसभा समष्टिबाट साझा उम्मेद्वारका निम्ति वैठक बोलाएको छ। गत 18 मार्चका दिन भएको वैठकपछि 20 मार्चको दिन दार्जीलिङमा वैठक हुने निश्चित भएको थियो। तर, गोरामुमो अनि गोजमुमो (विमल गुट) पार्टी मिलेर लोकसभा चुनाव लड्ने घोषणा गरिसकेको छ। यस्तो अवस्थामा एनजीसीले 20 मार्चको दिन डाकेको सर्वदलिय वैठक स्थगित गरेको छ’ एनजीसीका अध्यक्ष अप्रा. लेफ्टिनेन्ट जेनेरल शक्ति गुरुङले भनेका छन्।
यसक्रममा उनले गोरामुमो र गोजमुमो (विमल गुट) को गठबन्ध यदि गोर्खा जातिको हितको निम्ति भएको हो भने गोर्खा विरोधी शक्तिहरूलाई जवाब दिन सक्षम बन्नुपर्ने बिचार पनि एनजीसीले व्यक्त गरेको छ। ‘एनजीसीले जहिले पनि गोर्खाहरूको हितको निम्ति कार्य गरेको छ अनि भविष्यमा पनि यो कार्य जारी राख्नेछ’ अप्रा. लेफ्टिनेन्ट जेनेरल शक्ति गुरुङले भनेका छन्।
http://www.gafsaff.com