नेपाली सांगीतिक जगतमा नाम चलेको गायक महेश सेवाको गजल एल्बम आईतबार तीनधारेमा विमोचन गरियो।राष्ट्रिय शिक्षक सम्मान प्रापक हरिप्रसाद छेत्रीको अध्यक्षता र वरिष्ठ संगीतकार मणिकमल छेत्रीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा संगीतकार कर्म ग्याल्छेन बम्जन, स्रष्टा विचन्द्र प्रधान, गायक थुप्देन भोटिया, कर्म शेर्पा, एबीएन च्यानलको मालिक विजय चामलिङ लगायत अन्यहरू उपस्थित थिए। गायक महेश सेवाको “भक्कानो”, आलाप, रूमानी धुन र यो चौथो एल्बम सौगात तीनधारेमा नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ व्यक्तिहरूका बीच सभाध्यक्ष हरिप्रसाद छेत्री, प्रमुख अतिथि संगीतकार मणिकमल छेत्री, एल्बमको संगीतकार कर्म ग्याल्छेन बम्जन, गायक महेश सेवा र तिनकी माता पूर्ण सेवाको बाहुलीबाट लोकार्पण गरियो। आफु 8 वर्षको हुँदा तीनधारेको यही मञ्च महात्मा गाँधी हलमा महेश सेवाले “तिमी नभए जिन्दगानी काँड़ासरी” नामक गीत गाएका थिए भने आज आएर नेपाली सांगीतिक दुनियाँमा प्रसिद्धि कमाईसकेपछि यो उनको चौथो एल्बम यही विमोचन गरियो। युवराज सुन्दासले सञ्चालन गरेको कार्यक्रममा स्वागत वक्तव्य आयोजक समितिको संयोजक सुप्रेम छेत्रीले राखेका थिए।
यस कार्यक्रम विशेषगरी सांगीतिक बनेको थियो। साहित्य र संगीतका स्रष्टा एंव सर्जकहरू भएको तीनधारेको भूमिमा आजको कार्यक्रम संगीतमय बनेको थियो। कार्यक्रममा म्युजिक तीनधारेको सांगीतिक प्रस्तुतिमाझ गायकहरू राकेश लामा, बरूण रसाईली, कर्म मोक्तान, सन्तोष लामा र ऋषिका छेत्रीले आफ्नो गायन प्रस्तुती दिएका थिए। सौगात विमोचन भएपछि यसबाट गायक महेश सेवाले दुईवटा गजल गायन पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार मणिकमल छेत्रीले धेरै गायक गायिकाहरूका लागि प्रेरणाको स्रोत बनिसकेका गायक महेश सेवाबाट सांगीतिक कोशेली यसरी नै आईरहोस् भन्दै तिनीबाट समाजले योगदान पाईरहेको होस् भनी कामना गरे। उनले अघि भने-“गजल नेपाली सांगीतिक क्षेत्रमा आएको बेसी भएको छैन, गजल लेखनमा अलिक बेसी भएपनि नेपाली गजलको संगीतमा भने एकरूपता आएको छैन, नेपाली गजलको संगीतमा एकरूपता आउन ठोस निर्णय आएको हुनुपर्छ।”
उनले गजल र संगीत मनोरञ्जनको साधन मात्रै नभएर हामी सबैको जीवनमा काम गरिरहेको हुन्छ भन्दै संगीतको सुरहरूको उतार चढाउबिना भाषा मीठो हुँदैन, संगीतको सुरबिना नमीठो हुन्छ अनि लयबिना हामी केही गर्न सक्दैनौं भनी बताए। संगीतकार छेत्रीले बिहान उठेकोदेखि सुतेकोसम्म संगीतलाई अञ्जानमै हामीले प्रयोग गरिरहेका हुन्छौं ,संगीत बिग्रदा प्रलय हुन्छ अर्थात् सुर र लयमा नगाउँदा प्रलय हुन्छ भनी बताए। उनले संगीत गहन विषय हो , यो सिकेर सकिने कुरा होइन भनी बताए। कार्यक्रममा सौगात एल्बमको संगीतकार कर्म ग्याल्छेन बम्जनलाई आयोजक समिति तीनधारेको तर्फबाट सम्बर्द्धना पनि गरियो ।यस अवसरमा सभाध्यक्षद्वारा खदार्पण अनि प्रमुख अतिथिद्वारा नेपाली टोपी अनि विशिष्ट अतिथि बिजय चामलिङद्वारा शल ओढ़ाएर सम्वर्ध्दना पत्र पर्दान गरी सम्मान् गरियो। गायक एंव संगीतकार कर्म ग्याल्छेनद्वारा कार्यक्रममा आफ्न गायन प्रस्तुति पनि दिएका थिए।
कार्यक्रममा विमोचित गजल एल्बम सौगातमाथि समालोचक एंव विश्लेषक बीपी बजगाईंद्वारा समीक्षात्मक टिप्पणी राखिएको थियो। कार्यक्रममा धन्यबाद ज्ञापन गीतकार सुकुमार बराईलीले राखे। कार्यक्रममा प्रमोद गिरी, मनोज गिरी, बीपी बजगाईं, राजा पुनियानी, मनोज बोगटी, सुरज रोसुरी, कैलाश सुब्बा, शैलेन्द्र समदर्शी लगायत विभिन्न क्षेत्रबाट साहित्य र संगीतका हस्तीहरू उपस्थित थिए।
http://pratibymba.com/