गोर्खा जनमुक्ति युवा मोर्चाले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गर्ने तीनवटा प्रतियोगिताका विजेताहरूलाई पुरस्कार स्वरूप मोठ 3 लाख रूपियाँ प्रदान गर्ने भएको छ। युवा मोर्चाले आगामी 26 देखि 28 अक्टोबरसम्म आफ्नो 12औं स्थापना दिवसको अवसरमा क्रमैले रक व्याण्ड, मिस दार्जीलिङ र वाल पेन्टिङ प्रतियोगिताको आयोजना गर्ने भएको छ। जसमा प्रथम, दोस्रो र तेस्रो स्थानमा आउने प्रतियोगीहरूलाई क्रमैले 50, 30 र 20 हजारको दरले पुरस्कार स्वरूप आर्थिक राशि प्रदान गर्नेछ। यसैको जानकारी गराउँदै युवा मोर्चाद्वारा गठित स्थापना दिवस आयोजक समितिका संयोजक उपकार राईले भने-विशेष आई लभ दार्जीलिङको विषयमा विद्यार्थीहरूमाझ वाल पेन्टिङ प्रतियोगिता राखिनेछ, जसले एकतर्फ दार्जीलिङप्रति यी विद्यार्थीहरूको भावना के छ भन्ने स्पष्ट हुनेछ भने अर्कोतर्फ मैला बनिसकेका सडक किनारका भित्ताहरू पनि सफा हुनेछ। यसरी नै मिस दार्जीलिङ प्रतियोगितामा टप 10-सम्म आउने प्रतियोगीहरूलाई दिल्ली लगेर उचित प्रशिक्षण दिलाउने अनि मिस इण्डिया प्रतियोगिताको लागि तयार पार्ने योजना बनाएको बताए। उनले भने-दार्जीलिङ पहाडमा प्रतिभाको कुनै कमी छैन। तर उनीहरूले सही मञ्च पाएका छैनन्। यसैले उनीहरूलाई मञ्च दिने उद्देश्यले नै युवा मोर्चाले आफ्नो स्थापना दिवसको अवसरमा यी प्रतियोगिताहरूको आयोजना गर्ने निश्चित गरेको हो।
http://pratibymba.com