चिया बगानका मजदुरहरुको निम्ति न्युनतम रोज वृद्धि गरिनुपर्ने मागमा चिया बगान मजदुर संगठनहरुको जोइन्ट फोरमद्वारा डाकिएको पहाड अनि समतल बन्दले मङपु क्षेत्रमा पनि असर परेको छ | बगान मजदुरहरुको हितको निम्ति डाकिएको बन्दलाई पहाडको सत्ताधारी पार्टी गोर्खा जनमुक्ति मोर्चाले पनि समर्थन गरेको हुँदा मोर्चा पक्षबाट पनि दार्जीलिंग पहाडमा बन्दलाई सहयोग पुगेको छ | बन्द अवधि मङपु क्षेत्रका सिन्कोना बगानहरु पनि बन्द रह्यो भने निर्देशकको कार्यलय साथै यसको अन्य कार्यलयहरुतिर पनि मोर्चा द्वारा बन्दको अपिल गरेको हुँदा कार्यलय कर्मचारीहरु आए पनि सधैंको जस्तो दैनिक कार्य भने हुन सकेन | यहाँको एक दुईवटा सिन्कोना विभागहरुमा भने मोर्चा समर्थकहरुले बगान मस्टर अनि अन्य कार्यलयहरुतिर ताला माथि पोस्टरिङ गर्दै बन्द गर्ने अपिल गरेको देखिएको छ | बन्दकै सन्दर्भमा गोजमुमो द्वारा चलिरहेको भाषा एवम गोर्खाल्याण्डको आन्दोलनमा अन्य थप अप्रिय घटना हुनदेखि रोक्नलाई यहाँको प्रशासन व्यवस्थामामा पनि थप कडाकडी गरिएको छ | यहाँको सिन्कोना मुख्य कार्यलय परिसर, व्यवस्थापकको कार्यलय, कुइनाइन फ्याक्ट्री, कोर्ट, निर्माणाधीन आइटीआइ लगायत बगानका सम्पतिहरुलाई सुरक्षा दिन थप पुलिसकर्मीहरु तैनाथ गरिएको छ साथै मङपुदेखि तल एनएचपिसी क्षेत्रहरुमा पनि पुलिसकर्मीहरु द्वारा सुरक्षा प्रदान गरिएको छ भने मङपु क्षेत्रको शान्ति तथा सुरक्षा व्यवस्थाको निम्ति एकजना डीएसपी, पाँच एसआई लगायत महिला अनि पुरुष कन्स्टेबलहरु ल्याइएको मङपु आउटपोस्ट प्रभारी एसआई एम हुसैनबाट थाहा लागेको छ | साथ साथै क्षेत्रमा शान्ति सुरक्षा बनाई राख्न यहाँका पुलिसकर्मीहरुको पनि उत्तिकै सहभागिता रहेको छ | यता सिन्कोना निर्देशक डा० सामुयल राईबाट प्राप्त जानकारी अनुसार आन्दोलन अवधि सिन्कोनाको सम्पतिको रक्षार्थ विभिन्न स्थानहरुमा चौकीदारहरु बढाइएको थाहा लागेको छ | बन्द अवधि कडा सुरक्षा बिच यहाँको रेशेप बजार स्थित कोर्ट खुल्ला रहेको थियो भने यहाँको नालीडांडादेखि रेशेप बजार लगायत विभिन्न विभागहरुका दोकान पाटधरि बन्दरहेको थियो | दैनिक चल्ने लोकल भ्यानदेखि लिएर दैनिक यात्री सेवाका सम्पूर्ण बहानहरु पनि आजको बन्दमा पूर्ण रुपले अचल रहेको पाइएको छ |
यता मोर्चाको गोर्खाल्याण्ड आन्दोलनको सन्दर्भमा राजनैतिक परिपेक्ष्यलाई हेर्दा भने मङपु क्षेत्रमा कुनै महायुद्धमा सेनापतिले रणभूमि छोडे पनि सेनाहरु द्वारा युद्ध लडिरहे जस्तो मोर्चाका कुनै नेतृत्वले पनि हिम्मत गरेर सडकमा ओर्ली बन्द पालन गर्ने अपिल नगरेपनि जनता स्वयले नै बन्दलाई पालन गरिदिएको पाइएको छ | यस्तो अवस्थामा हरेक स्थानहरुमा गोर्खाल्याण्डको माग गर्दा प्रशासन द्वारा जनताले कुटाइ खाइरहेको समय हरेक क्षेत्रहरुमा गिरफ्तार हुने भय त्यागेर नेतृत्वहरु सडकमा ओर्लंदै आवाज बुलन्द गर्नुपर्ने विज्ञपक्षको भनाई छ |
बन्दकै सन्दर्भमा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन महासचिव गगन राईले एउटा प्रेस मिट बोलाएर सम्पूर्ण सिन्कोना बगान क्षेत्रहरुमा बन्द पूर्ण रुपमा सफल भएको बताउंदै सबै मजदुर, कर्मचारी तथा अधिकारीवर्गलाई धन्यवाद प्रकट गरेका छन् | साथमा गोजमुमो केन्द्रीय समिति सदस्य एवम युनियन कोअर्डिनेटर मिरेन लामाले पनि बन्दलाई पूर्ण सफल भएको बताएका छन् ||