गोरामुमो अध्यक्ष मन घिसिङले यसपाली “पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो” भन्ने भनाईलाई मूल मन्त्र बनाएर चुनावी मैदानमा अघि बढ्ने बताउँदै साझा उम्मेद्वारको पक्षमा आफुहरू रहेको बताएका छन्। आईतबार गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक संगठनले चौरास्तामा जम्मू-काश्मीरको पुलवामामा शहीद बनेका सीआरपीएफ जवानहरूप्रति श्रद्धाञ्जलि अर्पणको कार्यक्रमको मा विशेष रूपले उपस्थित बनेका गोरामुमो अध्यक्ष मन घिसिङले साझा उम्मेद्वार विषयमा आफ्नो बयान दिएका हुन्।
यसै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यसपालीको चुनाउमा पार्टीको मूल मन्त्र पार्टीभन्दा जाति ठूलो, जातिभन्दा ठूलो माटो हुने बताए। यसका साथै उनले पहाडका अन्य राजनैतिक पार्टीहरूलाई पनि यसपाली पार्टीभन्दा माथि उठेर काम गर्ने आह्वान गरेका छन्।
‘गोरामुमोले पार्टीको स्वार्थलाई पर सारेर यसपाली केवल जातिको स्वार्थलाई हेरेको छ। यसैले जातिको स्वार्थमा नै पहाडका सबै पार्टी मिलेर एकजना साझा उम्मेद्वार खडा गराउनुपर्छ, ताकि जातिको ढलेको शिर पुनः उठ्न सकोस्। यसैले गोरामुमोले पहाडका सबै राजनैतिक पार्टीहरूलाई एकजुट बनाउऩको लागि शीघ्रै एक सर्वदलीय बैठक गर्ने चाँजो मिलाएको छ, जसमा भाजपा, तृणमूल कंग्रेस, विमल गुरूङपन्थी, विनय तामाङपन्थी गोजमुमो, माकपाका साथै सम्पूर्ण राजनैतिक पार्टीहरूलाई निमन्त्रणा गरिनेछ’ मन घिसिङले भने।
उनले लोकसभा चुनाउ सरकारलाई हामी खुशी छैनौं भन्ने सन्देश दिने समय हो भन्दै यो मौका चुकाउनु नहुने पनि बताएका छन्। ‘यसपालीको चुनाउ विशेष दार्जीलिङ पहाडका जनतासँगै सम्पूर्ण नेताहरूका लागि पनि अग्नि परीक्षा हो। गोर्खा जातिले अहिलेसम्म पनि न्याय पाएको छैन। यसैकारण गोर्खा जाति खुशी छैन। यसैले यो सन्देश यसै चुनाउबाट दिनुपर्छ। गोरामुमोले पार्टीको स्वार्थ होइन, जातिको स्वार्थलाई प्राथमिकता दिएको छ, यसैले जुन पार्टीले जातिको लागि सोंच्छ, त्यो पार्टीसित गोरामुमोको मन मिलिहाल्छ। यसैले सबैलाई एकताको सूत्रमा बाँध्नु हो भने हामी अलग-अलग भएर होइन, एक भएर अघि बढ्नुपर्छ। हामी अलग-अलग भयौं भने हाम्रो हार हुनेछ’ मन घिसिङले भने।
उनले भने-गोर्खा जातिलाई विदेशीको लाञ्छनाबाट मुक्त बनाउनको लागि पनि गोर्खा जाति एकजुट हुन आवश्यक रहेको बताएका छन्। राजनैतिक पार्टीहरूले पार्टी बिस्तार गर्नु अनि पार्टी बलियो बनाउँनु सानो विषय हो भन्दै सबैभन्दा ठूलो कुरा जाति हो भनेका छन्। ‘हालसम्म कुनै पनि पार्टीबाट गोरामुमोलाई भेट गर्ने, चुनाउको लागि समर्थन माग्ने काम भएको छैन। यदि यस्तो हुन्छ भने हामी पारदर्शी ढङ्गमा जनताअघि राखिदिन्छौं’ उनले भने।
http://www.gafsaff.com/