देशको सिमानामा पुन: एकचोटी गोर्खा सैनिकले शाहदत प्राप्त गरेका छन्। दार्जीलिङ जिल्ला अधिनस्थ लामाहट्टा निवासी राईफलम्यान जीवन गुरुङ जम्मु कश्मिरको रजौरी जिल्लामा आतङ्की हमलामा सहिद बनेका छन्।
11 अप्रेल 1994 का दिन जन्मेका जीवन गुरुङ भारतीय सेनामा विगत 4 वर्ष 6 महिनादेखि सेवारत रहेका थिए। हालमा उनी जम्मु कश्मिरको रजौरी जिल्लामा तैनाथ रहेका थिए भने शुक्रबार भएको आतङ्की हमलाको उनी सहिद बनेको थाह लागेको छ।
जम्मु कश्मिरको रजौरी जिल्लाको नौसेरामा शुक्रबार आईईडी इम्प्रोभाइज एक्सपोसिभ डिभाइस) विस्फोटमा सेनाका एक मेज सहित एकजना जवान सहिद बनेका थिए। उक्त विस्फोटमा सहिद हुने सेनाका जवान दार्जीलिङ जिल्लाको लामाहट्टा निवासी जीवन गुरुङ हुन् भन्ने थाह लागेको छ।
उक्त विस्फोटमा सेनाका जुनियर कमिशन अधिकारी (जेसीओ) अनि अन्य एकजना जवान थप घाइते बनेको थाहा लागेको छ। प्राप्त जानकारी अनुसार उक्त विस्फोट लाइन अफ् कन्ट्रोलको पुखेरनी स्थित रूपमती चौकि नजिक भएको हो।
भारतीय सिमाको रक्षार्थ तैनाथ रहेका भारतीय सैनिकहरूलाई निशाना बनाएर नियन्त्रण रेखा नजिक आतङ्कवादीहरूले उक्त विस्फोट गरेको हो। जुन विस्फोटमा परेर दार्जीलिङ पहाडका युवा सैनिक जवानले आफ्नो ज्यान सिमानाको रक्षार्थ गुमाएका छन्।
विशेष सूत्रबाट प्राप्त जानकारी अनुसार सहिद जीवन गुरुङको शवलाई अहिले दिल्लीमा ल्याइपुर्याइएको छ भने दिल्लीबाट सम्भवत आज नै हवाई मार्ग भएर बाघडोगरा हवाई अड्डा ल्याइपुर्याइने भएको छ। जहाँबाट उनलाई सैनिक सम्मान दिएर उनको परिवारलाई सुम्पनका निम्ति लामाहट्ट्टा प्रस्थान गरिन सक्ने थाहा लागेको छ।
विनय तामाङले दिए श्रद्धाञ्जली
लामाहट्टा निवासी सहिद जीवन गुरुङप्रति जीटीए बोर्ड अध्यक्ष एवम गोजमुमो पार्टी अध्यक्ष विनय तामाङले श्रद्धाञ्जली दिएका छन्। आज एक प्रेस विज्ञप्ति जारी गरेर उनले सहिद गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदका परिवारप्रति समवेदना पनि प्रकट गरेका छन्।
‘जम्मु कश्मिरको रजौरी जिल्लामा शुक्रबार भएको आतङ्की हमलामा हाम्रा गोर्खा जवान सहिद बनेका हुन्। उनको साहदतलाई सम्पूर्ण गोर्खाहरूले हृदयबाट नै नमन गर्दछ भने हामी अमर सहिद जीवन गुरुङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। यसका साथै सहिद परिवार प्रति गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन समवेदना प्रकट गर्दै यतिबेला सम्पूर्ण गोर्खाहरू सहिद परिवारको पक्षमा छन् भन्ने सन्देश दिँदछौँ’ विनय तामाङले भनेका छन्।
सहिदलाई श्रद्धाञ्जली दिनेक्रममा तामाङले गोर्खाहरूले आफ्नो प्राणको आहुती देशको रक्षार्थ दिए पनि देशले भने न्याय नदिएको आरोप पनि लगाएका छन्। ‘भारत देशको रक्षार्थ गोर्खाहरूले बारम्बार दुशमनको गोलि खाएर सहिद बन्न परिरहेका छन्। यस्तो अवस्थामा पनि देशको रक्षामा खटेर आफ्नो प्राणको आहुति दिने गोर्खाहरूले भने अफ्नै देशमा भने न्याय पाएका छैनन्। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले –‘गोर्खाको सपना मेरो सपना’ भन्ने घोषणा मात्रै गरे तर गोर्खाहरूको सपना भने अहिलेसम्म पुरा गरेका छैनन्’ विनय तामाङले भनेका छन्।
उनले सहिद जीवन गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै युवा उमेरमा नै आफ्नो देशको निम्ति सहिद बनेका गुरुङको योगदानको एकदिन अवश्यै मूल्याङ्कन हुनेछ भन्ने विश्वास रहेको पनि तामाङले विज्ञप्तिमा बताएका छन्।
‘यो दुखको क्षणमा पुन: एकचोटि अमर सहिद जीवन गुरुङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोकित परिवारमा समवेदना प्रकट गर्दछु’ तामाङले भनेका छन्।
http://www.gafsaff.com