बीजेपी सरकारको क्याबिनेट वैठकले गोर्खा समुदायका 11 जात गोष्ठिलाई छोडेर अरूणाचल प्रदेशमा बसोवास गर्ने अनुसूचीत जनजातिको सन्दर्भमा संसदमा अनुसूचित जनजाति संविधान संशोधन बील पेश गर्ने स्वीकृती जनाएपछि एकचोटी पुन: गोर्खाहरू निराश बनेका छन्। बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट वैठकमा केवल अरूणाचल प्रदेशका अनुसूचित जनजातिको निम्ति संविधान संशोधन बिल पेश गर्ने स्वीकृती जनाएपछि गोर्खा समुदायका 11 जात गोष्ठी निराश बन्न परेको हो।
संसदको चलिरहेको शीतकालिन सत्रमा अघिबाटै गोर्खा समुदायका 11 जात गोष्ठलाई जनजाति बनाउने बील पेश हुने दाबी गोजमुमो विमल गुरुङ गुटले गरिरहेको थियो। यस्तो अवस्थामा भाजपा सरकारको क्याबिनेट वैठकमा गोर्खा समुदायका 11 जातगोष्ठीको उल्लेख नै नभएपछि जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्री अनि भारतीय गोर्खा परिसंघका राष्ट्रिय कार्यकारी अध्यक्ष मुनिष तामाङले प्रतिक्रिया व्यक्त गर्दै भाजपा सरकारले गोर्खाहरूप्रति विश्वासघात गरेको आरोप लगाएका छन्।
‘जनजातिको मुद्दा सन् 2016 मा नै प्रधानमन्त्रीको टेबलमा छ, सहीछाप भएपछि पास भइहाल्नेछ भन्ने दाबी गरिएको हो। तर, त्यो अहिलेसम्म पारित भएन। यहाँ जनजातिको मान्यता दिनका निम्ति राज्यमा सीआरई अनि केन्द्रमा आरजेआई छ। जबसम्म सीआराआईले पास गरेपछि केन्द्रमा आरजेआईले पास गर्दैन तबसम्म यो सम्भव छैन। हाम्रा मानिसहरूले यहीँ गाँठी कुरा बुझेनन्’ डा. हर्कबहादुर छेत्रीले अझ भने –‘आज अरुणाचल प्रदेशमा दुईवटै क्याटोगरी पास गरेपछि त्यहाँ कुनै विवाद हुँदैन अनि यसले आगामी लोकसभा चुनावमा सघाउ पुग्छ भन्ने ठानेर भाजपाले यो क्याबिनेटमा पारित गरेको हो।’
उनले भाजपाले केवल चुनाव जित्नका निम्ति बहना बनाउने कार्य गरेको भन्दै 11 जातगोष्ठीलाई जनजाति बनाउने मुद्दा पनि चुनावी मुद्दा मात्रै बनाएको डा. छेत्रीले दाबी गरेका छन्। ‘यसपालिको शीतकालिन सत्रले भाजपा पहाडमा चुनाव जित्न बाहेक अन्य कुनैपनि मुद्दामा इमान्दार छैन भन्ने स्पष्ट पारिदिएको छ। यो अवस्थामा विमल गुरुङले जनताति ल्याउँछै ल्याउँछ भन्नेहरूका निम्ति पनि एउटा झक्झकाउने काम हो’ डा. हर्कबहादुर छेत्रीले भने। उनले भाजपाले केवल पहाडमा भोट मात्रै हेरेको हो भन्दै यस्तो अवस्थामा जनताले बुझ्नपर्ने समय आएको पनि बताएका छन्।
अर्कोतर्फ केहि समय अघिसम्म भूमिगत नेता विमल गुरुङ आफैले शितकालिन सत्रमा 11 जातगोष्ठीले जनजातिको मान्यता पाउनेछन् भनि दिइरहेको बयान सन्दर्भमा भने डा. छेत्रीले गुरुङलाई भाजपा नेताहरूले दिएकै आश्वासनको भरमा बयान दिने कार्य गरेको हुनसक्ने बताएका छन्। ‘भाजपालाई विमल गुरुङ र उनका समर्थकहरूको भोट चाहियो थियो। त्यसैकारण भाजपा नेताहरूले गुरुङलाई 11 जातलाई जनजाति बनाइदिनेछौँ भनेर आश्वासन दिएका हुनसक्छन्। किन भने विमल गुरुङ हातबाट फुत्क्यो भने भाजपालाई पहाडमा समात्ने र टेक्ने ठाउँ नै रहँदैन। तर यहाँ भाजपा आफैलाई चुनाव अघि गतिलो पदक्षेप लिनुपर्ने भएको कारण त्यसले भाजपा गोर्खाहरू प्रति कतिसम्म इमान्दार छन् भन्ने प्रमाणित भयो। यो कुरा विमल गुरुङ आफैले पनि यतिबेला बुझ्न पर्नेहुन्’ डा. हर्कबहादुर छेत्रीले भने।
डा. छेत्रीले विमल गुरुङलाई भाजपाले आगामी चुनावसम्म पटक्कै नछोड्ने भन्दै भने –‘भाजपाले अन्तिम थोपा रस रहेसम्म निचोरर खोस्टा विमल गुरुङलाई चुनावपछि कहाँ फ्याँक्नेछन् भन्ने कुरा अहिलेनै बुझेको राम्रो हो। किन भने भाजपा गोर्खाहरू प्रति पटक्कै इमान्दार छैन’
अर्कोतर्फ यता भारतीय गोर्खा परिसंघका राष्ट्रिय कार्यकारी अध्यक्ष मुनिष तामाङले पनि संसदको शीतकालिन सत्र समापन हुन केहि दिन बाँकी रहँदा भाजपाकै क्याबिनेटले भने गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजाति बनाउने सन्दर्भमा केहि कार्य नगर्नाले संसदको शीतकालिन सत्रमा बील आउने सम्भावना लुप्त भएर गएको उनले बताएका छन्।
‘भारतभरिका गोर्खाहरूले क्याबिनेट वैठकमा गोर्खाहरूको 11 जातगोष्ठिको जनजाति बनाउने सन्दर्भमा प्रास्ताव पारित गर्नेछ भन्ने अपेक्षा साँचेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उक्त क्याबिनेट वैठकले केवल अरुणाचल प्रदेशका अनुसूचीत जनजातिको निम्ति संविधान संशोधन बिल पेश हुने स्वीकृतिले यो शितकालिन सत्रमा 11 गोर्खा जात गोष्ठीलाई जनजाति बनाउने बील पेश हुन सम्पूर्ण सम्भावना लुप्त भएर गएको छ’ डा. मुनिष तामाङले भने।
उनले गोर्खा समुदायका जातगोष्ठिलाई जनजातिको मान्यता दिनुपर्ने सन्दर्भमा भागोपको प्रतिनिधी टोलिले धेरैचोटी केन्द्रिय मन्त्रीगणलाई भेटघाट गर्ने कार्य गरेको भन्दै भारतका प्रधानमन्त्रीले अघिबाटै गोर्खाहरूको निम्ति गरेका सम्पूर्ण वाचाहरू पुरा गर्ने समय आएको भन्दै अहिलेसम्म केवल गोर्खाहरूले निराशा मात्र पाएको पनि बताएका छन्। ‘भागोपको महाअधिवेशन आगामी 10 जनवरीदेखि सिलगडीमा सम्पन्न हुनेछ। त्यस महाअधिवेशनमा हामी यसबारे चर्चा गर्नेछौँ अनि नयाँ रणनीति बनाउनेछौँ’ मुनिष तामाङले भने।
http://www.gafsaff.com