दार्जीलिङको विगतको फुटबल गौरव अनि गरिमालाई पुनः फर्काइल्याउनुको निम्ति जीटीएले राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्ने निधो गरेको छ। जीटीए चेयरम्यान्स गोल्ड कप टुर्नामेन्ट नाम गरेर आगामी 2 दिसम्बरको दिनदेखि फुटबल प्रतियोगिता शुरू भइरहेको छ जसमा आइएफएअधिनस्थ रहेका विभिन्न राष्ट्रियस्तरका फुटबल क्लबहरूले सहभागिता जनाउनेछन्। जीटीए स्पोर्टस् काउन्सिलको आयोजनामा हुन गइरहेको उक्त गोल्ड कप प्रतियोगिता भव्यताको साथमा अनि राष्ट्रिय फुटबल प्रतियोगिताहरूकै ढाँचामा सम्पन्न गरिने जीटीए अध्यक्ष विनय तामाङले जनाएका छन्।
तामाङले बताएअनुसार, उक्त गोल्ड कपको उद्घाटनी समारोह सालुगढ़ाको भेगा सर्कलमा भव्यरूपमा गरिनेछ भने आगामी 2 दिसम्बरको दिन सालुगढ़ा- सुकना जनमैदानमा रात्री म्याचबाट टुर्नामेन्टको शुरूआत हुनेछ भने फाइनल खेल कालेबुङमा सम्पन्न हुनेछ।उक्त प्रतियोगितामा बाहिरका राष्ट्रिय फुटबल क्लबहरूबाहेक दार्जीलिङ पहाड़कै चारवटा टोलीलाई पनि समावेश गरिनेछ जसको निम्ति आगामी 11 नोभेम्बरदेखि छनौट प्रतियोगिता सम्पन्न हुनेछ। उक्त छनौट प्रतियोगिताबाट दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक अनि सिलगढ़ीक्षेत्रबाट भाग लिने टोलीहरूमध्ये शीर्ष 4 वटा टोलीलाई जीटीए चेयरम्यान्स गोल्ड कप टुर्नामेन्टको निम्ति छनौट गरिनेछ।
उक्त गोल्ड कप प्रतियोगिता भव्यताको साथमा दार्जीलिङ, कालेबुङ, खऱसाङ, मङपू, मिरिक आदि क्षेत्रहरूमा खेलाइनेछ। यसको निम्ति जीटीएले उक्त क्षेत्रका खेल- मैदानहरूको व्यवस्थापन एवं निर्माणकार्यहरू पनि शुरू गरिसकेको तामाङको भनाइ रहेको छ।उक्त टुर्नामेन्टको विजेता टोलीलाई 3 लाख अनि उप-विजेता टोलीलाई 2 लाख रूपियाँ नकदसितै 4 तोला सून जड़ित 3.8 फूटको कप प्रदान गरिनेछ।
उक्त फुटबल टुर्नामेन्ट गर्नुको औचित्य 1986 को अघिसम्म दार्जीलिङ पहाड़मा फुटबल खेलले जुन गौरव अनि गरिमा हासिल गरेको थियो त्यसलाई फर्काइल्याउनु रहेको जीटीए अध्यक्ष विनय तामाङले बताएका छन्।
1986 भन्दा अघि दार्जीलिङ पहाड़मा प्रसिद्ध ब्रिगेडियर अफ गोर्खाज गोल्ड कप प्रतियोगिता आयोजना गरिने गरिन्थ्यो जुन प्रतियोगितामा भाग लिन विभिन्न राष्ट्रिय टोलीहरू दार्जीलिङ आउने गर्थे भने दार्जीलिङकै क्षेत्रीय खेलाड़ीहरू पनि सोही टुर्नामेन्टमार्फत् विभिन्न राष्ट्रिय टोलीहरूमा सामेल भई राष्ट्रियस्तरसम्मका खेलहरूमा भाग लिन सफल बनेका थिए। तर 1986 पछि यो गरिमा अनि गौरन लोप भएर गइसकेको छ। यसैले क्षेत्रीय खेलाड़ीहरूलाई प्रोमोट गर्नुको साथसाथै युवा पीढ़िलाई पनि खेलकूदतिर प्रेरित गर्ने उद्धेश्यले जीटीएले उक्त टुर्नामेन्ट शुरू गरेको हो जो हरेक वर्ष नै आयोजना गरिनेछ- पत्रकारहरूलाई सम्बोधन गर्दै तामाङले यसो भने।
यसबाहेक दार्जीलिङ पहाड़मा पनि राष्ट्रियस्तरको स्टेडियमहरू हुन आवश्यक रहेकोले गर्दा राज्य सरकार अनि मन्त्री अरूप विश्वाससमक्ष दार्जीलिङका कतिपय खेल मैदानहरूलाई राष्ट्रियस्तरको स्टेडियमहरूमा विकसित गर्ने लिखित अपील पनि जीटीएको तर्फबाट गरिसकिएको र चाड़ै उक्त कार्य शुरू हुने पनि तामाङले बताएका छन्।
http://pratibymba.com/