‘जीटीए चुनाव सम्बन्धी राज्यले कुनै अधिसूचना जारी गरेको छैन। हामी पनि चुनाव होस् भन्ने चाहन्छौँ। गणतन्त्रमा जनतानै भगवान हुन्। जनताले कसलाई आशिष दिने हुन् त्यो पछिबाट नै तय हुनेछ’ उक्त कुरा विनय तामाङले भनेका हुन्। यसक्रममा उनले अझ भने –‘चुनावमा यदि जनताले जनादेश उनीहरू (विमल गुट) लाई रूचाएर दिएको खण्डमा अनि यहाँको शाषण प्रणाली चलाउन बागडोर उनीहरूको हातमा थमाएको खण्डमा त्यसलाई म आदार गर्नेछु।’
एक कार्यक्रममा भग लिन कालेबुङ आइपुगेका विनय तामाङलाई पत्रकारहरूले जीटीए चुनावबारे सोधेको प्रश्नको जवाब दिने क्रममा उनले आफ्नो विचार व्यक्त गरेका हुन्। ‘हामीले जीटीएको चुनाव हुनपर्छ भनेर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी अनि अन्य नेतृत्ववर्गलाई भनेका छौँ। विगतका दिनमा चुनाव गर्नका निम्ति वातावरण ठिक थिएन तर अहिले यहाँ शान्ती भएको कारण चुनाव गराउन सक्ने वातावरण सिर्जना भएको छ। यसैकारण यथाशिघ्र चुनाव भए यहाँको व्यवस्थालाई अझ सुव्यवस्थित बनाउन सक्नेछौँ भन्ने हामीलाई लागेको हो’ विनय तामाङले भने।
यसैक्रममा विमल गुरुङ गुटका नेता रमेश आलेले मुख्यमन्त्री ममता ब्यानर्जीसँग वार्त बस्ने इच्छा जाहेर गर्दै पत्रचार गरेको सन्दर्भमा प्रश्न गर्दा यसबारे आफुहरूको कुनै आपत्ती नरहेको बताएका छन्। ‘राज्य सरकारले भोलिको दिनमा उनीहरूलाई (विमल गुटलाई) बोलाएर वार्ता गर्छ भने त्यसमा हाम्रो कुनै आपत्ती रहनेछैन। तर, उनीहरूले यो पनि याद राख्नुपर्छ कि भोलिको दिनमा केन्द्र सरकारले हामीलाई बोलाएर वार्ता गरेको खण्डमा उनीहरूको पनि आपत्ती हुनुहुँदैन’ विनय तामाङले प्रक्रिया व्यक्त गर्दै भने।
उनले विमल गुटका नेता रमेश आलेले वार्ताको निम्ति मुख्यमन्त्रीलाई पत्रचार गरेको सन्दर्भमा दिएको बयान आफुले सुनेपछि आफुहरूको आपत्ती नरहेर अचम्भित बन्न पुगेको बताएका छन्। ‘कर्णल आलेको बयान सुनेपछि अचम्भित भएँ। उनीहरूले एकवर्ष अघिसम्म राज्यसरकारसँग वार्ता हुनै सक्दैन भनेका थिए। साथ-साथै 29 अगस्त 2017 मा राज्य सरकारले बोलाएको वैठकमा म जाँदा विमल गुरुङले फरमान जारी गरेर वार्तामा जानेहरूले गोर्खाल्याण्डको आवाज नउठाए पहाड फर्कन दिनेछैनौँ भनेका थिए। यद्यपी हामीले त्यसबेला वार्तामा गोर्खाल्याण्डको आवाज उठाएका थियौँ अनि मुख्यमन्त्रीले त्यसबेला यो राज्यको विषय होइन केन्द्रको विषय हो भनेकी थिइन्। त्यतिबेला गोर्खाल्याण्डको आवाज उठाउँदा पनि हामीलाई माटो विरोधी र जाति विरोधी भन्दै आरोप लगाए। तर, अहिले उनीहरूले कसरी यु-टर्न लिएर वार्ताको कुरा गर्दैछन्? त्यहीँ कारण अचम्भित बनेको हुँ’ विनय तामाङले भने। यसक्रममा उनले आगमी दिनमा केन्द्र सरकारले आफुहरूलाई बोलाएर वैठक डाक्न सक्ने सङ्केत पनि दिएका छन्।
वितेक वर्ष आफुहरूले राज्य सरकार समक्ष गोर्खाल्याण्डको कुरा उठान गर्न सकेको अनि यसपल्ट विमल गुटले पनि यदि वैठक गरे राज्यसरकारसमक्ष गोर्खाल्याण्डको मुद्दा उठान गरेर देखाउने चुनौति पनि तामाङले दिएका छन्। ‘हामीले गोखाल्याण्डको मुद्दा उठाइसक्यौँ अब तिमीहरूले पनि वैठ गर्यौ भने उठाएर देखाऊ। यदि गोर्खाल्याण्डको मुद्दा उठाउन सक्यौ भने हामी स्वागत गर्नेछौँ तर उठाउन सकेनौँ भने जनतालाई के जवाब दिनेछौ त्यो पनि अघिबाटै तय गर्ननुपर्छ’ विनय तामाङले विमल गुटका रमेश आलेहरूलाई चुनौति दिँदै भने।
यता हालमा जीटीएको चुनावको चर्चा चलिरहेको सन्दर्भ अनि केहिदिन अघि भाजपा दार्जीलिङमा शखाका मनोज देवानले जीटीए चुनाव भए गोजमुमो विमल गुटसँग मिलेर चुनाउ लड्नेछौँ भनि दिएको बयानबारे प्रश्न गर्दा उनले आफुहरू कुनै पनि चुनावका निम्ति तयार रहेको बताएका छन्। ‘जीटीए चुनावको मिति अहिलेसम्म राज्यसरकारले मिति तय गरेको छैन। यस्तो अवस्थामा भाजपाले विमल गुरुङ गुटसँग चुनाव लड्ने भन्दैछन् तर यसमा हाम्रो भन्नु केहि छैन। चुनाव लड्न सबैलाई अधिकार छ’ विनय तामाङले अझ भने –‘मनोज देवानले जुन गुटसँग मिलेर चुनाव लड्छु भन्दैछन् उनीहरूलाई युएपीए जस्ता गम्भीर कानुनी मुद्दाहरू लागेको छ। यस्तो अवस्थामा मनोज देवानको बयान आउनुले विमल गुरुङहरूलाई भाजपाले शरण दिने कार्य गरिरहेको छ’ विनय तामाङले भने।
http://pratibymba.com/