‘जनजाति मान्यताको निम्ति कमिटीको रिपोर्ट होइन तर आरजीआईको अनुमोदन आवश्यक अनि महत्वपूर्ण छ। आरजीआईले नै दुई-दुईपल्ट जनजातिको मुद्दालाई खारेज गरिसकेको छ भन्ने कुरा विमल गुरूङलाई थाह छैन। उनले आज जारी गरेको प्रेस विज्ञप्तिले यही प्रमाणित गरेको छ’ उक्त कुरा जीटीए बोर्ड अध्यक्ष एवम् गोजमुमो अध्यक्ष विनय तामाङले भनेका हुन्।
भूमिगत नेता विमल गुरुङले आज एक प्रेस बिज्ञप्ति जारी गरेर जनजातिको मुद्दामा विनय तामाङले भ्रम सिर्जना गरिरहेको आरोप लगाएपछि तामाङले पनि प्रेस विज्ञप्ति जारी गरेर नै विमल गुरुङलाई जवाब दिएका छन्।
‘विमल गुरूङ गोर्खाहरूको निम्ति पर्खाल बनेर उभ्न सक्ने निडर नेतृत्त्व होइन तर गोर्खाहरूलाई आपदमा छोड़िराखेर एक्लै बाच्न भाग्दै हिड़्ने कायर व्यक्तिमात्र हुन्। नत्र त उनी सुप्रिम कोर्टले 20 नोभेम्बर 2017 मा उनलाई पक्राउ नगर्ने निर्देश जारी गर्दा पनि लुक्दै- भाग्दै हिड़ेका हुन्’ विनय तामाङले विमल गुरुङलाई कायर नेतृत्वको संज्ञा दिँदै अझ भनेका छन् – ‘सुप्रिम कोर्टको उक्त निर्देशपछि दार्जीलिङ पहाड़ चड़ेर आफ्ना समर्थकहरूको मनोबल बड़ाउनुको साटो उनी दिल्लीतिर भाजपाको शरण पुगेका हुन् भने दिल्लीबाटै अहिलेसम्म पनि उनले दार्जीलिङ पहाड़मा तालिबानी फरमान जारी गर्दै आफ्नो तानाशाही नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।’
‘हामीलाई कलकत्ताको कठपुतली भन्ने विमल गुरूङ वास्तवमा दिल्लीको कठपुतली भइसकेका छन्’ विमल गुरुङले लगाएको आरोपको ठाडो जवाब तामाङले दिएका छन्। यसक्रममा उनले आफुहरूमा साहस र आँट भएको अनि काम गर्नलाई रोडम्याप भएको पनि बताएका छन्।
‘हाम्रोमा साहस छ, आट छ, सबैभन्दा ठूलो कुरा गोर्खा जातिको शीर उच्च राख्न हामीले बौद्धिक, रणनैतिक अनि रोडम्याप लिएर कार्य गरिरहेका छौं भने आत्मविश्वास छ। यसैले हामी दिल्लीमा आएर नै हाम्रो विरोध गर्नेहरूलाई जवाब दिने साहस गरिरहेका छौं’ विनय तामाङले अझ भनेका छन् –‘विमल गुरूङमा यदि यो आट, साहस छ भने, गोर्खाहरूको निम्ति राम्रो कार्य गरेको छु भन्ने उनलाई आत्मविश्वास छ भने दिल्लीमा बसेर होइन तर दार्जीलिङ पहाड़मा आएर जनतालाई सम्बोधन गरून् भन्ने हामी चुनौती दिन्छौं।’
भूमिगत नेता विमल गुरुङले दिल्लीमा सम्पन्न हुने साङ्गीतिक कार्यक्रममा चर्चिक कलाकार उदय-मनिला सोताङको प्रस्तुतिबारे गरेका टिप्पणीको पनि तामाङले जवाब दिएका छन्। उनले उदय-मनिला सोताङलाई विमल गरेको टिप्पणीले कलाकारलाई सम्मान गर्न नजान्ने चरित्र स्पष्ट भएको समेत भनेका छन्। गुरुङले उदय-मनिला सोताङलाई गरेको टिप्पणी एउटा तालिबानी फरमान सरह भएको भन्दै गुरुङले आफ्नो शासनकालमा यस्तो तालिबानी फरमान जारी गर्ने गरेको पनि विनय तामाङले आरोप लगाएका छन्।
‘आफ्नो शासनकालभरि विमल गुरूङले उनको तालिबानी फरमान नमान्ने जनतालाई आफ्नो नेता एवं गुण्डाहरू लगाएर अनुहारमा कालो पोतिदिने जस्ता तानाशाही कार्य गरेको सबैसामु उदाङ्गो छ। अहिलेको राजनैतिक परिपेक्ष्यमाथि नाटक भानु पाला -4 कलाकारहरूको एक राजनैतिक ब्यङ्गात्मक अभियव्यक्ति हो जो कुनै बाधारहित दार्जीलिङ पहाड़मा मञ्चन भइरहेको छ जुन नाटकका कलाकारहरूलाई 2015 सालमा विमल गुरूङले पातलेबासस्थित आफ्नो पार्टी कार्यालयमा बोलाएर धम्की दिने काम गरेका थिए। खरसाङमा त उक्त नाटक मञ्चन गर्दा कठोर पुलिस सुरक्षा प्रदान गरिनुपरेको थियो’ विनय तामाङले भनेका छन्। यसक्रममा उनले विगतका दिनमा विमल गुरुङले राजनैतिक दलका नेताहरूलाई मात्र नभएर कलाकारहरूलाई समेत अभिव्यक्तिको स्वतन्त्रता नदिएको आरोप लगाएका छन्।
गुरुङप्रति टिप्पणी गर्दै छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको रणनीति समेत उनीहसँग नभएको विनय तामाङले आरोप लगाएका छन्। यसक्रममा उनले गुरुङलाई मोहम्मद बिन तुगलगको संज्ञा समेत दिएका छन्। ‘विमल गुरूङसित न त कुनै रणनीति थियो न त कुनै रोडम्याप नै थियो। उनले मोहम्मद बिन तुगलकले झै पहाड़मा शासन गरे। दार्जीलिङ पहाड़वासीको भावना अनि आस्थामाथि खेलेर उनले जहिल्यै साधारण जनतालाई भ्रामक अनि झूटो नेतृत्त्व गरेर समस्याको खाल्डोभित्र जाकिँदिए’ विनय तामाङले भनेका छन्।
आफैलाई गान्धीवादी भन्ने भूमिगत नेता विमल गुरुङले गान्धीवादलाई नै बदनाम गरेको तामाङले आरोप लगाएका छन्। ‘अशान्ति अनि हिँसात्मक क्रियाकलापहरू आफ्नो शासनकालभरि गरेर पनि विमल गुरूङले गान्धीवादको पवित्र शब्द नै बदनामपूर्ण बनाइदिए भने राष्ट्रपिताको बदनाम गर्ने उनलाई वास्तवमा राष्ट्रपिताको जन्म जयन्तीको शुभकामना दिने कुनै अधिकार रहेको छैन।‘ विनय तामाङले अझ भनेका छन् –‘दिउँसै मानिसहरूको हत्या गरियो, संगीतकार, कलाकारहरूलाई खुल्ला ज्यानमालको धम्की दिइयो अनि उनकै अङ्गरक्षक 2014 सालमा अवैध हतियारसहित पक्राउ समेत पर्यो। गान्धीवाद भनेको उनको निम्ति मात्र पैसा अनि ऐश आराममात्रै थियो।…महात्मा गान्धी अनि गान्धीवादको गरिमालाई बन्दूकले कुल्चिने व्यक्ति हुन् विमल गुरूङ।’
यसैक्रममा विमल गुरुङले विनय तामाङलाई पार्टीबाट निस्कासित गरिएको नेता भनि बताएको विषयमा पनि तामाङले जवाब दिएका छन्। यसक्रममा उनले 20 नोभेम्बर 2017 का दिन नै विमल गुरुङलाई पार्टीबाट निश्कासित गरिएको स्मरण दिलाएका छन्।
‘20 नोभेम्बर 2017 मा नै पार्टीबाट संवैधानिक अनि बहुमतले निष्काषित भइसकेको विमल गुरूङ अनि रोशन गिरीले आफैलाई गोजमुमो अध्यक्ष एवं महासचिव भन्ने अधिकार समेत छैन’ विनय तामाङले अझ भनेका छ –‘गोजमुमोको गोर्खाल्याण्ड आन्दोलनको निम्ति पवित्र गान्धीवादको सिद्धान्त अनि पार्टीको आचार संहिता, सविधानलाई पूर्णरूपले हनन गर्दै बम- बारूद, हतियार उठाएर समग्र पहाड़लाई आगोमा झोसेको कारम ना उनीहरूलाई पार्टीबाट निष्काषित गरिसकेको छ। गोजमुमो केन्द्रिय समितिका धेरैजना केन्द्रिय समिति सदस्यहरूले पूर्ण बहुमत प्रदान गरेर उनीहरूलाई पार्टीले अगावै निष्काषित गरिसकेका छन्।’
‘विनय तामाङ कोलकोताको कठपुतली हुन्’ – विमल गुरुङ
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयमा भूमिगत बनेका नेता विमल गुरुङले गान्धी जयन्तीको शुभकामना व्यक्त गर्दै जीटीए बोर्ड अध्यक्ष विनय तामाङप्रति कडा टिप्पणी गरेका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गरेर तामाङप्रति कटाक्ष गरेका हुन्।
‘केन्द्रले गोर्खा जातिलाई अनुसूचित जनजातिको मान्यता दिनुलाग्दा दिल्लीले जिस्कायो, दिल्लीमा नै गएर जवाब दिन्छु भन्ने विनय तामाङको वक्तव्य घोर जाति विरोधी वक्तव्य हो’ विमल गुरुङले अझ भनेका छ –‘केन्द्रले गोर्खा जातिलाई केहि दिन चाहेको बेला केन्द्रलाई नै गाली गरेर जनतामा भ्रम उत्पन्न गरेर भाँजो हाल्ने विनय तामाङको राजनीति कोलकोताको स्वार्थमा नाच्दैछ।’
गान्धी जयन्तीको शुभकामना दिने बहनामा जारी विज्ञप्तिमा गुरुङले विनय तामाङलाई कोलकोताको कठपुतली समेत भनेका छन्। ‘पहाडमा विनय तामाङको राजनीति र गोर्खाप्रतिको माया एउटा भयानक प्रपञ्च बाहेक केहि होइन। … विनय तामाङ झूटको सहारामा उभिएको केवल कोलकोताको कठपुतली हुन्’ विमल गुरुङले भनेका छन्। यसक्रममा उनले गोर्खाहरूको भावना बङ्गाल सरकारको कारण आहत रहेको आरोप लगाएका छन्।
उनले दिल्ली गोजमुमोद्वारा आयोजना गरिको साङ्गीतिक कार्यक्रमबारे पनि कटाक्ष गरेका छन्। यसैक्रममा उनले आगमी 7 अक्टोबरका दिन गोजमुमो पार्टीको स्थापना दिवस पालन गरिने अघिबाटै विनय तामाङको घोषणाप्रति पनि टिप्पणी गरेका छन्। ‘गोर्खा जनमुक्ति पार्टीबाट निस्कासित गरेको मान्छेले कुन नैतिक आधारमा 7 अक्टोबरको दिन पार्टीको स्थापना दिवस पालन गर्छ?’ विमल गुरुङले विनय तामाङप्रति प्रश्न तेर्साएका छन्।
उनले जारी विज्ञप्तिमा जनजातिको मुद्दामा भाजपा अनि आफुले झुट बोलिरहेको दाबी गरेर आफै जोकर भएको पनि दाबी गरेका छ। ‘कमिटिले रिपोर्ट पर्खिरहेको छ’ भनेर लेख्नुअ मामला प्रक्रिया अन्तर्गत छ भनेको हो भन्दै विनय तामाङले अर्काले रोपेको फसल उठाउन खोजेको आरोप पनि लगाएका छन्। यसैक्रममा उनले बनबासीहरूको मुद्दाबारे लिला कुमार गुरुङले मिडिया मार्फत सोधेका प्रश्नहरूको जवाब दिन नसकेको पनि आरोप लगाएका छन्।
http://pratibymba.com/