मङपु अनि सिटोङ क्षेत्रको संगम स्थल मानिने जोगीघाट परिसरमा विगत एक वर्षदेखि शनिबारे हाटको आयोजन गर्दै आइरहेको छ | सिटोङ अनि मङपु यी दुवै क्षेत्रका मानिसहरुको संयुक्त आयोजनामा आआफ्नो क्षेत्र भरि उब्जनी हुने अर्ग्यानिक साग सब्जी आदि हरेक शनिबार हाटको मध्यमद्वारा संलग्न क्षेत्रबासीलाई खुवाउने अनि क्षेत्रबासीको उत्पादनलाई सही बजारीकरण गर्न हेतु आयोजन गर्दै आइरहेको हाटले केही गति पक्रिसकेको भए पनि विगत तीन महिना अघिदेखि चलेको पहाडव्यापी गोर्खाल्याण्ड आन्दोलन अनि यसको अनिश्चितकालिन बन्दले ठुलो प्रभाव प्रभाव परेको देखिएको छ | जोगीघाट त्यसै पनि दिनप्रतिदिन अघोषित पर्यटन स्थल बन्दै गइरहेको अवस्थामा यहाँ हरेक दिन मङपुदेखि बाहिर विभिन्न क्षेत्रका मानिसहरु पिकनिक खान आउने गर्छ | यसै परिसरमा सम्पन्न हुने हरेक शनिबारको हाटले अझ सुनमा सुगन्ध थप्ने काम गरेको छ | तर विगत दिनहरुको बन्दको कारण स्थानीय अनि समतलका पसलेहरु आउनमा हिच्किचाइरहेको दु:खेसो आयोजक समितिको पक्षमा प्रणय राईले बताएको छ | यस हाट शुरु भएदेखि यता रियाङ खोला वारी अनि पारीका बासिन्दाहरुले हरेक साता ताजा साग सब्जी अनि घरमा चाहिने अन्य आवश्यक सामग्रीहरु सजिलैसित प्राप्त गर्न सकिरहेको स्थानीय बसिन्धाहरुको मन्तब्य हुँदा हुँदै पनि समय परिस्थितिमा आइपर्ने समस्याहरुसित जुझ्दै आयोजक समितिले हाटको स्तरलाई अझ माथि लाने दिशातिर कम्मर कसिरहेको जानकारी प्राप्त छ | केही महिना अघि मात्र यसै हाटमा क्षेत्रका कृषकहरुलाई विभिन्न साग सब्जी अनि फलफुल आदिका वीजहरु निशुल्क रुपमा वितरण गरेका थिए भने पछिबाट फेरि कुकुरलाई नि:शुल्क एन्टीरेबिज भेक्सिन लगाउने तथा गृहपालित जन्तुहरुको स्वास्थ्य जाँच शिविरको पनि आयोजन गरेका थिए | सिटोङ अनि मङपु दुवै क्षेत्रका बासिन्धाहरुले जोगीघाट परिसरको प्राकृतिक सौन्दर्य साथै यसको महत्वलाई अझ बढाएर लान हो भने साथै बाहिरका पर्यटकहरुलाई अझ आकर्षित पार्न हो भने दुवै क्षेत्र मिलेर यस हाट साथै क्षेत्रको सौन्दर्यलाई संरक्षण गर्न जरुरी रहेको कुरो हाट आयोजक समिति सभापति समीर मोक्तानको मन्तब्य छ | यसको साथै दिनप्रतिदिन पर्यटन सिजन लागिरहेको समय शितल, शान्त अनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण जोगीघाट परिसरमा हरेक शनिबार लाग्ने हाटमा स्थानीय ब्यापारीहरुलाई पनि आफ्नो पसल राख्न सक्ने जानकारी आयोजक समितिले गराएको छ ||
↧